Category: Nepali Section

डिजिटल स्टोरी टेलिंग तालीम सम्पन्न

२६ मार्च २०१७, स्प्रिंगफिल्ड । पश्चिम मेसाचुसेट्समा बसोबास गर्ने भूटानीहरूको एउटा टोली सहभागी रहेको तीनदिने “डिजिटल स्टोरी टेलिंग (डिजिटल कथा प्रस्तुती)” तालीम आज सम्पन्न भएको छ । यूनिभर्सिटी अफ मेसाचुसेट्स (यूमास) जनस्वास्थ्य विद्यालय एमहर्स्ट र भूटनिज सोसाइटी अफ वेस्टर्न मेसाचुसेट्स (बीएसडब्लूएम्) द्वारा संयुक्त रूपमा सञ्चालित उक्त्त तालिम अघिल्लो शनिबार र आइतबार दुई दिन सञ्चालन भएको थियो भने तालिमको बाँकी भाग आज सञ्चालन भएको थियो ।

DST Participants

तालीमका सहभागीहरूका साथमा प्रशिक्षकद्वय सेरा लोई तथा भुवन गौतम

तालिममा स्प्रिंगफिल्ड निवासी तरन तिवारी, भानु तिवारी, बिराज अधिकारी, हरि खनाल र वेस्ट स्प्रिंगफिल्ड निवासी आशीष तामाङ्गले प्रशिक्षार्थीको रूपमा भाग लिएका थिए । यूमास जनस्वास्थ्य विद्यालयको तर्फबाट सेरा लोई र बीएसडब्लूएमका बोर्ड अध्यक्ष भुवन गौतमले प्रशिक्षकको रूपमा सहभागीहरूलाई उनीहरूको आफ्नै जीवनमा आधारित विषयवस्तुको छनोट, कथा सामग्रीको तयारी तथा रेकार्डिंग, भिडियो निर्माण, सम्पादन तथा उत्पादन लगायतका सीपहरू सिकाएका थिए ।

भूटानी समाजमा देखा परेको मानसिक स्वास्थ्य समस्यालाई डिजिटल कथा प्रस्तुतीको माध्यमबाट न्यूनीकरण गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन जरिएको तालिमकी मुख्य प्रशिक्षक सेरा लोईले तालिम समापनको अवसरमा सहभागीहरूलाई बताइन । यसैगरी अर्का प्रशिक्षक एवं बीएसडब्लूएम्का बोर्ड अध्यक्ष भुवन गौतमले तालीमबाट प्राप्त ज्ञान र सीपलाई आफूसँग सिमित नराखी समाजको हितको निम्ति सदुपयोग गर्नु उपयुक्त हुने बताए । तालीम पछि सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

The above report has been reproduced from Sandesh Samachar Online. 

अप्राप्तिमा तृष्णा; प्राप्तिपछि अन्योल र जोखिम: एक चिन्तन

भुवन गौतम

साहित्य र यसको उपयोगिता

साहित्य लेखनको एउटा फराकिलो क्षेत्र हो जसले सम्बन्धित लेखाई, समय, भाषा, मानिस इत्यादिलाई समेटी रचनात्मक तथा कलात्मक रूपमा लेखकहरु पाठकहरुसमक्ष पुग्ने गर्दछन् । साहित्यले मानव सभ्यताका अनेकन् पाटाहरु उजागर गर्दछ, त्यो हामीलाई थाहा भएकै कुरा हो । भाषा र साहित्यिक विकासले मानवमा सभ्यताको विकास गर्नुका साथै आफ्ना संस्कृतिक तथा परम्परागत प्रणालीहरुको पनि प्रबर्धन गर्दै जान्छ । झनै पाश्चत्य मुलुकहरुमा त नेपाली साहित्यको विकासले अनेकतामा एकताको अर्को ऊर्जा थपिदिन्छ ।

भूटानी साहित्यको धरातलीय अवस्था
प्रवासी नेपालीहरू साहित्यमा किन अगाडी छन् तर भूटानी साहित्य भने आफ्नो स्पेस निर्माण गर्न किन संधर्ष गर्न बाध्य छ भन्ने कुरा बुझ्न धेरै टाढा गइरहनु पर्दैन । नेपाली भाषी भूटानीहरुलाई श्रमिकका रूपमा भूटान सरकारले आजभन्दा सयौँ वर्ष अगाडी दक्षिण भूटानमा त्यो देशका बासिन्दा सरह मौलिक हक अधिकारको सुनिश्चितताका साथ नागरिकता प्रदान गरी बसोबास गर्ने व्यवस्था मिलाएको हो । भूटान सरकारले विज्ञान, शिक्षण क्षेत्र आदिमा छात्रवृत्ति दिए पनि राजनीति, मानविकी तथा कानुन विषयमा नागरिकहरुलाई पढ्ने वातावरणको सिर्जना गरेन ।

त्यसै गरी शिक्षित, सम्पन्न तथा अग्रज वर्ग खाली पेसामूलक शिक्षामा आकर्षित भएको र समाजसेवा तथा स्वयंसेवामा न्यून आवश्यकता महाहुस गरेकाले गर्दा युवा वर्गमा साहित्यप्रति उत्सुकता कम भएको हो । त्यस्तै समयको गतिसँगै पछि भएका खोज तथा अनुसन्धानहरु राजनीतिसँग बढी सम्बन्धित भएकाले साहित्यमा खासै प्रगति नभएको हो । भूटानमा भोटिया जतिको भाषा र संस्कृति मान्नुभन्दा आफ्नै भाषा, संस्कृति, परम्परा, साहित्य र कलालाई सुरक्षित गर्न  चार जात छत्तिस वर्णको फूलबारी नेपालमा पनि त्यो सपना पुरा हुन सकेन । नेपालीभाषी भूटानी शरणार्थी र नेपालीबिच आपसी साद्भव तथा सहयोगको तालमेल नमिलेकाले पनि भूटानीहरुले सोचेको जस्तो हुन सकेन । बिस्तारै नेपाली भाषा र साहित्यलाई विकास गर्ने जोसमा २-४ दर्जन साहित्यकारहरूको जन्म भए पनि यो अवस्था खासै झाँगिन सकेन ।

नेपाली भाषी भूटानी समाजमा किन “साहित्यकार”को जन्म हुन सकेन?
कतिपय प्रतिभाहरु गरिबीका कारणले आफ्ना लेख रचनाहरुको सम्प्रेसण तथा  प्रकाशन हुनै नपाई हराएर गए । नेपाली साहित्यकारहरुको तस्बिरलाई जति पुजे पनि आफ्नै भूटानी साहित्यकारहरुको प्रतीक नभएकाले गर्दा भूटानी साहित्यमा “आफ्नोपन” जहिल्यै खट्किरहयो । त्यसका अतिरिक्त, सञ्चारका साधनहरुको विकास तथा त्यसको उपभोग गर्ने स्रोत र साधन को औकात नभएको तथा औकात भएपनि आधुनिक सञ्चार प्रणाली तथा प्रविधिसँग एकाकार हुन नसकेकाले भने अर्को समस्या निम्त्याएको छ । शरणार्थी पुनर्बाशपछि साहित्यलाई पेसामूलक व्यवसाय बनाउन न मिलेकाले गर्दा साहित्यमा थोरै प्राथमिकता दिनु पर्ने वातावरणको सिर्जना भयो ।

दोष कसलाई लगाउने ? 
विकसित देशहरूमा सबै कुराको सम्पन्नतामा पनि भूटानी साहित्य झन फस्टाउनु पर्नेमा झन जोखिमपूर्ण अवस्थाको सिर्जना हुनुमा कसलाई दोष दिने? भाषा र साहित्यको विकास पहिचान र राष्ट्रियतासँग जोडिएको हुन्छ । तर अभाग्यवश विदेशमा जन्मेका बाल-बालिकाहरुलाई पुनर्बास भएका देशको भाषाको शिक्षण नै प्राथमिकता भएकाले गर्दा घरमा थोरै समय मातृभाषा बोल्दा तथा केही अभिभावकहरुले नानीहरुसँग अङ्ग्रेजीमै आदानप्रदान गर्न उत्सुकता देखाएकाले नेपाली भाषा आफ्नै घरबाट प्रत्यक्ष वा परोक्ष रूपमा भाषा हराउँदै गएको छ । त्यसका अलावा अभिभावकहरुले बालबालिकाहरुको प्रविधिका साधनहरुको प्रयोगमा निगरानी गर्न नसकेकाले गर्दा उनीहरूले किताब पढ्नमा कम रुचि देखाउने गर्दछन् ।

नेपाली भाषा विस्तारमा हाम्रा अवसर तथा चुनौतीहरू 
हामीसँग बिस्तारै एउटा यस्तो जमात तयार हुँदैछ जो पश्चिमा मुलुकहरूको भाषिक स्तर, साहित्यिक गतिशीलता, चुस्त शिक्षण प्रणाली, प्रविधिको व्यापकता आदिसंग नजिक छ।  यस जमातले साहित्यको उत्थानका लागि अलिकति मात्र प्रयत्न गर्ने हो भने पनि हामी ठुलो उन्नतिको आशा गर्न सक्छौँ।  शरणार्थीहरु पुनर्बासमा गएका विभिन्न ठाउँहरूमा सामाजिक संघसँस्थाहरु जन्मदै छन्, हुर्कंदै छन्।  यी संघसस्थाहरुले साहित्य उत्थानमा सानो मात्र काम गर्ने हो भने पनि यो कार्य क्रमश: फैलंदै जानेछ।  हामीसँग हाम्रो भाषा-साहित्यको विकासका लागि न त हिजो सरकार थियो, न त आज नै छ।  यो विशुद्ध स्वयंसेवाको बलमा हुर्कनु पर्दछ।  हामीलाई साहित्यको क्षेत्रामा काम गर्ने धेरै स्वयंसेवकको खाँचो छ।  वर्तमान अवस्थामा हामीले सचेत भएर सोच्ने हो भने हामीसँग जतिसुकै ठुलो सङ्ख्यामा पनि स्वयंसेवकहरु उपलब्ध हुन सक्नु पर्ने हो।

त्यसो त हामीसँग तमाम चुनौतीहरू पनि छन्।  हामी कार्यक्रम गर्न भौतिक रूपमा जुट्न सक्दैनौँ।  संवाद र समन्वयको कमी, विश्वासको कमी र आत्मविश्वासको गरिबी, सीमित युवा सशक्तिकरण, बाबा-आमाको सीमित पर्यवेक्षण क्षमता र अभिभावकत्वको सीप आदिले भयावह रूप लिँदैछ।  पुनर्बासले सिर्जना गरेको संस्कृतिक झड्का, पारिवारिक भूमिकामा आएको विचलन, अभिभावकको नियन्त्रणहीनता मा फस्टाउँदै गरेको सामाजिक सञ्जाल आदिले हामीलाई अर्कै संसारतर्फ धकेल्दै छ।  यी कुराहरूको निराकरण पनि साहित्यका लागि आवश्यक हुन सक्दछ।

केही सुझाव 
• प्रत्येक नेपाली भाषी भूटानीहरु भएका सहरहरूमा रहेका सामाजिक संघसंस्थाहरु सङ्गठित भई नेपाली भाषा, संस्कृति, धार्मिक ग्रन्थ आदिलाई नेपाली भाषामा बढाउने वातावरणको सिर्जना गर्नु पर्ने।

• युवा वर्गलाई प्रोत्साहन गर्नु पर्ने ।

• अभिभावकहरुलाई पारिवारिक जिम्मेवारीको ज्ञान दिने ।

• धार्मिक ग्रन्थहरु नेपाली भाषामा उपलब्ध गराउनका साथै धर्म र विज्ञानमार्फत पनि भाषाको प्रवर्द्धन गर्नु पर्ने ।

Bhutaneseliterature.com को पाँचौ वार्षिकोत्षव विशेषांक: मेरो शुभकामना
म कुनै लेखक-साहित्यकार नभए पनि एउटा नेपाली भाषालाई माया गर्ने मान्छेका हैसियतले मैँले Bhutaneseliterature.com लाई नजिकबाट नियालेकोछु । वर्तमान समयमा साइबर प्रविधिको बललाई महसुस गरेर यस अनलाइनले जुन काम गरेकोछ, त्यो आफैँमा अद्वितीय छ । Bhutaneseliterature.com को प्रकाशनसँगै भूटानी साहित्यसमेत साइबर युगमा प्रवेश गरेकोछ । संसारका सबैतिर छरिएका साहित्यकारहरुलाई एउटा साझा मन्चमा समावेश गर्नु सजिलो काम पक्कै होइन । कुनै कामको थालनी गर्नु ठुलो कुरा होइन, यसलाई निरन्तरता दिन सक्नु सबैभन्दा ठुलो कुरा हो । Bhutaneseliterature.com ले निरन्तर रूपमा आफ्नो प्रकाशनको पाँचौ वर्ष पुरा गरेको छ । यस अवधिभर Bhutaneseliterature.com ले निःशुल्क रूपमा जति साहित्यिक रचनाहरुको इलेक्ट्रोनिक अभिलेख तयार गरेको छ यो समग्र भूटानी साहित्यको ठुलो उपलब्धि हो । पाँचौ वार्षिकोत्षव विशेषांक प्रकाशनको सुखद अवसरमा Bhutaneseliterature.com को निरन्तरताको कामना गर्दछु । यस साइटले प्रवासमा रहेका भूटानी प्रतिभाहरुलाई प्रकाशनको बृहत् मञ्च प्रदान गरिरहोस् । दीर्घ जीवन र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना !

[गौतम पश्चिम मासाचुसेट्सस्थित भूटानी समुदायका अध्यक्ष हुन् -सम्पादक]

This article is being reproduced from Bhutaneseliterature.com